तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना
विराटनगर। मौसम फेरिने क्रमसँगै आज शुक्रबार रातिदेखि आइतबार साँझसम्म मुलुकका विभिन्न भेगमा वर्षा र हिमपात हुन सम्भावना छ। हाल गण्डकी प्रदेशका पहाडी भूभागमा बादल विकसित भई मनाङ, लमजुङ्ग, गोर्खा लगायतका स्थानहरूमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।
विभागका अनुसार वर्षा गराउने प्रणाली कमजोर भई उत्तरपूर्व सर्दै गरेकोले केही समयपछि उक्त स्थानहरूमा वर्षा कम हुने देखिन्छ। आज राति कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरू लगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यस्तो मौसम आइतबार साँझसम्म जारी रहने सम्भावना छ। हिमाली भेगमा हिमपात हुन सक्नेछ भने तराईको हकमा, कोशी र मधेश प्रदेशमा वर्षा, हावाहुरीको सम्भावना छ।
चैत ९ गते शनिबार पनि देशैभरका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ। देशभरका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने सम्भावना विभागले औंल्याएको छ।
यसैगरी, चैत १० गते आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
