एसईईमा कोशीका १४ जिल्लाबाट ८१ हजार ३६० परीक्षार्थी

विराटनगर। आज बिहीबार सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन्।

परीक्षा सञ्चालनका लागि प्रदेशका १४ जिल्लामा ३७१ परीक्षा केन्द्र तोकिएको छ। कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका साधारण धारतर्फ ७७ हजार ९५७, प्राविधिक धारतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

नियमिततर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी सहभागी हुने मन्त्रालयले जनाएको छ।

एसईईमा सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थी सहभागी हुनेछन्। झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसईईमा सहभागी हुनेछन्।

यस्तै, तेह्रथुमबाट १ हजार १९४ विद्यार्थी परीक्षामा सहभागी हुने मन्त्रालयले जनाएको छ। सोलुखुम्बुका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थी सहभागी हुने छन्। ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २८३, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २३१ विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ।

परीक्षामा अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गताको प्रकृति हेरेर निर्धारित समयभित्र परीक्षा दिन नसक्ने भएमा शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा केन्द्राध्यक्षले बढीमा १ घण्टा ३० मिनेट समय थप गर्न सक्ने विशेष व्यवस्था गरिएको छ।

दृष्टिविहीन र दुवै हात नचल्ने परीक्षार्थीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा बढीमा कक्षा ८ उत्तीर्ण विद्यार्थीलाई सहयोगी राखी परीक्षा दिने व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *