बिजुली आउने जाने टुंगो हुँदैन, औद्योगिक क्षेत्र अस्तव्यस्त
विराटनगर। अनियमित विद्युत आपूर्तिका कारण सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगहरू प्रभावित भएका छन्। घोषित रूपमा लोडसेडिङ नभए पनि दिनमै अनेकौं पटक बिजुली आउने र जाने गर्दा उद्योग क्षेत्रमा समस्या देखिएको हो।
विद्युत अनियमितताले उद्योग सञ्चालनको वातावरण नै अस्तव्यस्त बनेको गुनासो उद्योगीहरुको छ। औद्योगिक क्षेत्रमा नियमित बिजुली आपूर्ति नहुँदा उत्पादन र आपूर्ति चक्र प्रभावित हुने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी बताउँछन्।
उनका अनुसार पूर्वसूचना बिना बिजुली पटक पटक अवरुद्ध हुने गरेकाले कतिपय उद्योगका पार्टपूर्जा र उपकरणहरुमा क्षति पुग्ने गरेको छ। यही कारण धेरै उद्योगले आफ्नो उत्पादन कटौती गर्नुपर्ने अवस्था रहेको राठीको भनाइ छ। यसको असर उपभोक्ता र उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरुमा पनि पर्ने गरेको छ। पर्याप्त बिजुली नआएर उत्पादन प्रभावित हुँदा बजारमा वस्तुको अभाव हुने, मूल्यवृद्धि हुने र चोरी पैठारी बढ्न सक्ने राठी बताउँछन्।
सुनसरी-मोरङ औद्योगिक करिडोरमा कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन्। ती क्षेत्रमा फरक फरक फिडरबाट विद्युत् वितरण हुन्छ। विद्युत अमियमिततालेसबैभन्दा बढी प्रभावित फलाम, सिमेन्ट, रिलायन्स, जुट र प्लाष्टिक उद्योग परेका छन्।
आकस्मिक रुपमा बिजुली आउने र जाने गर्दा उद्योगको पाटपुर्जा बिग्रनेदेखि कच्चा पदार्थ खेर जानेसम्मको समस्या हुने उद्योगी बताउँछन्। करिडोरमा पशुपति, हुलास, मैनावत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्ससहित आधा दर्जनभन्दा बढी ठूला फलाम उद्योग छन्।
हालै गरिएको एक अध्ययनका अनुसार औद्योगिक करिडोरमा एकै दिन ६२ पटकसम्म ‘ट्रिपिङ’ हुने गरेको छ। ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटक सम्म ‘ट्रिपिङ’ भएको अध्ययनका क्रममा पाइएको थियो।
निजी क्षेत्रले यो समस्याबारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदै आएको छ। प्राधिकरणका उच्च अधिकारीदेखि ऊर्जामन्त्री दीपक खड्काको समेत ध्यानाकर्षण गराइएको छ।
हाल देशभर साँझको समयमा १९ सय मेगावाट बिजुलीको माग छ। स्थानीय उत्पादन यतिखेर १७ सय मेगावाट मात्रै छ। भारतबाट दिउँसोको समयमा ६ सय मेगावाट बिजुली आयात भइरहेको छ। साँझ १५० देखि २ सय मेगावाट र राति ४ सय मेगावाट बिजुली आयात हुने गरेको छ। सुक्खायाममा स्वदेशी उत्पादनले मात्र नपुग्ने भएकाले भारतबाट बिजुली आयात हुने गरेको हो।
