मधेस प्रदेश सरकारद्वारा एसईई ‘बहिष्कार’

जनकपुर। मधेस प्रदेश सरकारले चैत ७ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) ‘बहिष्कार’ गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज मंगलबार जनकरपुरमा पत्रकार सम्मेलन गरी परीक्षाको सम्पूर्ण प्रक्रियाबाट प्रदेश सरकार अलग भएको बताएका छन्।

परीक्षा समन्वय समितिलाई दिइएको निर्देशन नमानेको भन्दै मुख्यमन्त्री सिंहले परीक्षा प्रक्रियाबाट प्रदेश सरकार अलग रहेको उल्लेख गरे।

प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिए पनि शिक्षा समन्वय इकाईलगायत शैक्षिक संस्थाहरूले नमानेको उनको भनाइ छ।

‘प्रदेश सरकारले भनेको नमानेपछि परीक्षा प्रक्रियामा प्रदेश सरकारको सहभागिता हुँदैन’ मुख्यमन्त्रीले भने, ‘२० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेस प्रदेशको परीक्षामा चलखेल गरेर विद्यार्थीहरूको भविष्यसँग खेलबाड गरिरहेका छन्।’

एसईई सकिनासाथ शिक्षा अधिकारीलगायत निकायहरूमा अनुगमन गर्नुका साथै तालाबन्दी गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिए। गत २६ फागुनमा मधेस सरकारले गोला प्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय विपरीत जिल्ला परीक्षा समन्वय समितिहरूले केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएको मुख्यमन्त्री सिंहको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *