आँखा शिविरमा आक्रमण, ४ जना घाइते

विराटनगर। मोरङको रंगेलीमा आँखा शिविर सञ्चालन भइरहेका बेला आक्रमण भएको छ। सोमबार अपराह्न केही स्थानीयले आक्रमण शिविरमा आक्रमण गरेका हुन्।

प्रहरीका अनुसार विराटनगरको रानी आँखा अस्पतालको आयोजनामा रंगेली नगरपालिका–७ पिपल चोकमा आँखा शिविर सञ्चालन गरिएको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले शिविरमा बिरामीको आँखा परीक्षण भइरहेका बेला मदिरा सेवन गरेर आएकाहरुले आक्रमण गरेको जानकारी दिए। आक्रमणबाट आँखा अस्पतालका कर्मचारीसहित ४ जना घाइते भएका छन्।

अस्पतालका मार्केटिङ इन्चार्ज विराटनगर महानगरपालिका–१५ का अमर साह, मार्केटिङ अफिसर विराटनगर–३ का ३२ वर्षीय सुमन बस्नेत, सवारी चालक विराटनगर–१५ का २९ वर्षीय श्रवण मण्डल घाइते भएका छन्। यस्तै, रंंगेली–७ का ४५ वर्षीय अरुणकुमार मण्डल पनि घाइते भएको प्रहरीले जनाएको छ।

शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको रंगेली अस्पतालमा उपचार भइरहेको छ। उनीहरुमाथि रंगेली–७ का ४२ वर्षीय धीरेन मण्डल, २७ वर्षीय रामधना मण्डल लगायतले आक्रमण गरेको डीएसपी जोशीले बताए। धीरेन र रामधनालाई पक्राउ गरिएको छ।

शिविर चलिरहेका बेला मादक पदार्थ सेवन गरेर आएकाहरुले सुरुमा आँखा परीक्षण गर्न लगाएका थिए। त्यसपछि एकाएक निहुँ खोजेर आक्रमण गरेको प्रहरीको भनाइ छ।

आक्रमण सुरु भएपछि भागाभाग भएको थियो। आक्रमणपछि शिविर बिथोलिएको छ। घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *