‘अञ्जिला’ चलचित्रको नाफाले अञ्जिलाकै लागि घर बनाइने

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्रदर्शनबाट हुने नाफाले उनकै लागि घर बनाइने भएको छ।

निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार चलचित्रबाट हुने सबै नाफा अञ्जिलाका लागि घर निर्माणमा खर्च गरिने छ। कप्तान सुब्बालाई इलामदेखि काठमाडौं ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध गराएका निर्माता श्रेष्ठले यसका लागि ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन्।

नेपालमा प्रदर्शनबापत आउने रकम र त्यसअघि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलित रकमले यो अभियान पुरा गर्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ।

फागुन २९ गते प्रदर्शन शुरू भएको चलचित्रले ३ दिनमा २ करोड सात लाख रुपैयाँको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए। वितरक श्रेष्ठले चलचित्र प्रदर्शनको चौथो दिन आइतवार र पाँचौं दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए।

कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उनको सङ्घर्ष र सफलतासँग भावनात्मक रूपमा जोडिएका निर्देशक मिलन चाम्स बताउँछन्। ‘कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ। हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनुभयो। यो सफलताले आउँदा दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ’, निर्देशक चाम्सले भने।

चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्। चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *