मोरङ कारागारका थुनुवाको मृत्यु
कोशी अस्पताल, विराटनगर
विराटनगर। जिल्ला कारागार मोरङमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा पुर्याइएका उनको शनिबार मृत्यु भएको हो।
जेलर गौरव ढुंगेलका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय जितबहादुर देवानको उपचारका क्रममा मृत्यु भएको हो।
हातखुट्टा नचल्ने समस्या देखिएपछि उनलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। आईसीयूमा उपचार भइरहेको अवस्थामा दिउँसो उनको मृत्यु भएको जानकारी ढुंगेलले दिए।
आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रव मुद्दा चलाएको थियो। जिल्ला अदालत मोरङले देवानसँग धरौटीबापत २५ हजार रूपैयाँ लिएर मुद्दाको पुर्पक्ष गर्न मंसिर २३ गते आदेश दिएको थियो। धरौटीबापतको रकम बुझाउन नसकेपछि उनलाई थुनामा राखिएको थियो।
मुद्दाको किनारा लागिसकेको छैन। मुद्दा विचाराधीन रहेकै अवस्थामा थुनुवाको मृत्यु भएको जेलर ढुंगेलको भनाइ छ। शवलाई कोशी अस्पतालकै शव गृहमा राखिएको छ।
परिवारका सदस्य सम्पर्कमा आइसकेकाले प्रक्रिया पूरा गरेर शव जिम्मा लगाउने तयारी भइरहेको उनले बताए।
