एक वर्षमा ४ जना प्रशासकीय अधिकृत फेरिए
संखुवासभा। संखुवासभाको खाँदबारी नगरपालिकामा एक वर्षको अवधिमा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। कार्यकाल पूरा नहुँदै र कार्यभार सम्हालेको छोटो अवधिमै प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइरहेका छन्।
खाँदबारीले २०८१ सालमा ५ जना प्रमुख प्रशासकीय पाउने भएको छ। निर्माणकुमार कार्की, दीपकमणि घिमिरे, रामदत भट्ट र भक्तबहादुर खड्काले प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हालिसकेका छन्।
गत भदौ ५ गते आएका प्रमुख प्रशासकीय अधिकृत भट्ट कात्तिक १२ सम्म मात्रै खाँदबारी बसे । पछिल्लो पटक २०८१ मंसिर ९ गते आएका प्रमुख प्रशासकीय अधिकृत खड्का फागुन ६ सम्म मात्रै खाँदबारीमा रहे। उनको ललितपुर सरुवा भएको छ।
खाँदबारीमा लामो समय प्रमुख प्रशासकीय अधिकृत नटिक्ने पुरानै रोग हो। प्रमुख प्रशासकीयको अरनखटन संघीय सरकारले गर्छ। संघीय सरकारले पठाउने प्रशासकीय अधिकृतले पालिकामा एक्लो महसुस गर्ने गरेको कर्मचारीहरु बताउँछन्।
जनप्रतिनिधि र पुराना कर्मचारीको हालिमुहाली तथा असहयोगका कारण प्रमुख प्रशासकीय लामो अवधि नटिक्ने गरेका हुन्। पुराना कर्मचारीसँगको असमझदारी, राजनीतिक टकराव तथा जनप्रतिनिधिको असहयोग नै प्रमुख प्रशासकीय नटिक्नुको प्रमुख कारणहरु रहेको स्थानीय बताउँछन्। अनावश्यक दबाबका कारण प्रमुख प्रशासकीयले पनि खाँदबारीमा बस्न रुचाउँदैनन्।
