खुकुरी प्रहारबाट युवा संघका इन्चार्जसहित ३ जना घाइते

झापा। झापाको बिर्तामोडमा खुकुरी प्रहारबाट युवा संघका जिल्ला इन्चार्जसहित ३ जना घाइते भएका छन्।

राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज), विश्वदीप राजवंशी र अजय खवास घाइते भएका हुन्। युवा संघ इन्चार्ज आङ्देम्बेको अवस्था गम्भीर छ। घाइतेहरुको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आङ्देम्बेलाई आईसीयूमा भर्ना गरिएको छ।

बिर्तामोड नगरपालिका–४ का खगेन्द्र खालिङले मंगलबार बिहानका राति १ बजेतिर आङ्देम्बेलाई घरमा बोलाएको घाइतेहरुले प्रहरीलाई बताएका छन्। घरमा छिर्न खोज्दै गर्दा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ।

राजवंशीलाई भने भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिदै गर्दा मोटरसाइकलमा रहेका ४ जनाले आक्रमण गरेको प्रहरीको भनाइ छ । आक्रमणमा संलग्न र घाइतेहरुबीच के विषयमा विवाद थियो भनेर यकिन भइनसकेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका इन्स्पेक्टर सन्तोष राईले बताए।

आक्रमणमा संलग्नको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको राईले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *