प्रधानमन्त्री ओली विराटनगर आउँदै

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार विराटनगर आउँदै छन्। उनले कोशीको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रदेशसभा दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसको सबै तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री आजै मोरङ, सुन्दरहरैँचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने छन्। त्यसपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्न विराट आउने कार्यक्रम छ।

कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार दिउँसो २ बजेबाट सुरु हुने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।

नेकपा (माओवादी केन्द्र) सहितका प्रतिपक्षी दलले भने प्रधानमन्त्रीको सम्बोधनका विषयमा औपचारिक जानकारी नभएका कारण बैठकमा उपस्थित नहुने चेतावनी दिएका छन्।

यसैबीच, प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको बताएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री आउने भएपछि मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार सुन्दरहरैँचा र विराटनगरमा सुरक्षा व्यवस्था मजवुत बनाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *