वासु शशी साहित्य सम्मान मुखियालाई, वैद्य र पहाडीलाई पुरस्कार
काठमाडौं। वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी, साहित्यकार विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ र सन्धा पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने भएको छ। यी पुरस्कारको राशि पच्चीस हजार छ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उल्लेखित सम्मान र पुरस्कार दिने निर्णय गरेको हो।
६ दशकदेखि नेपाली नाटक र गीत लेखनमा सक्रिय मुखियाका आधा दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन्। मुखियाका नाटकहरु ‘अनि देउराली रुन्छ’ र ‘क्रसमा टाँगिएको जिन्दगी’ तथा एकांकीहरु ‘अँध्यारोमा बाँच्नेहरु’ र ‘फेरि इतिहास दोहोरिन्छ’ प्रकाशित छन्।
यसैगरी, चार दशकदेखि सिर्जनामा सक्रिय वैद्यका चार कविता कृतिहरु प्रकाशित छन् । उनका ‘आकाश छुन खोज्ने मनहरु’, ‘समय र सपनाहरु’, ‘अक्षर सिम्फोनी’ र ‘युगको तटमा उभिएर’ कृतिहरु प्रकाशित छन्।
तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील पहाडीका कविता र सम्पादनका कृतिहरु प्रकाशित छन्। उनका ‘मृगतृष्णा र अन्य कविता’, ‘घामका अक्षर’ र ‘विश्व नारी नेपाली कविता’ (सहलेखन) प्रकाशित छन्।
सम्मान तथा पुरस्कारहरु वासु शशीको ८९औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने जानकारी परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले जानकारी दिए।
वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, मोमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसकेका छन्।
यसैगरी, वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे र किरण खरेल सम्मानित भइसकेका छन्।
बासु शशीका बारेमा…

वासु शशीले सानै उमेरमा घरमा अक्षर चिनेका थिए। अलि ठूलो भएपछि बम भोलासँग केही समय पढेर उनी पद्मोदय हाईस्कूलमा पढ्न थाले। त्यहाँ पढ्दापढ्दै नौ वर्षको उमेरमा उनले ु‘विद्यार्थीु’ शीर्षकको कविता लेखे।
त्यो कविता ‘विद्याथी’ नामक पत्रिकामा छापियो। १४ वर्षको उमेरमा उनले एसएलसी पास गरेका थिए। १६ वर्षमा आईए पास गरेका उनी बीएड पढ्नका लागि भर्ना भएका थिए।
वि. सं. २०१४ मा नन्दीरात्रि हाई स्कूलबाट आयोजित प्रतियोगितात्मक कविसम्मेलनमा ‘वसन्त–कोकिल’ शीर्षकको कविता पाठ गरेर उनले स्वर्णपदक प्राप्त गरेका थिए।
२०१३ सालमा उनले ‘नवनिर्माण’ नामको साहित्यिक त्रैमासिक पत्रिका निकाले। २०१४ सालमा ‘गोरेटो’ र ‘लोकदूत’ पत्रिकाको सम्पादन पनि गरेका थिए। बीएड प्रथम वर्षमा पढ्दापढ्दै साहित्यिक प्रतिभाका आधारमा उनले भारतको भ्रमण गर्ने अवसर पाएका थिए।
उनकी आमा सितार बजाउँथिन्। आमाकै प्रेरणाले उनले तबला बजाउन सिकेका थिए उनले कविता लेख्ने प्रेरणा युगकवि सिद्धिचरण श्रेष्ठबाट पाएका थिए।
२००४ मा स्थानीय परोपकार संस्थाको कार्यकर्ताका रूपमा उनले समाजसेवी कार्य गरे। २००८ सालमा उनले जयवागेश्वरी पुस्तकालयको स्थापना गरे भने त्यही पुस्तकालयको आयोजनामा उनले साहित्यिक कार्यक्रम गर्न थाले।
उनको कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, कवि केदारमान व्यथित, इतिहासकार बालचन्द्र शर्मा लगायत अग्रजको सहभागिता हुन्थ्यो।
२००९ सालमा उनले महाकवि देवकोटाको सभापतित्वमा विराट् साहित्य सम्मेलनको आयोजना गरेका थिए। २००८ मा स्थापना भएको शारदा मिडिल स्कूलमा उनले २००९ सालदेखि प्रधानाध्यापक भएर सेवा गरेका थिए।
नेवारी भाषामा नाटक लेखन र मञ्चन पनि उनले त्यसै बेलादेखि थालेका थिए। २०१५ सालदेखि २०१६ सालसम्म उनले फर्पिङ बोर्डिङ हाईस्कूलमा पढाएका थिए। त्यस बेलाचाहिँ उनले नेपाली भाषामा नाटक लेखे। उनले नेवारी भाषामा चारवटा नाटक लेखेका थिए।
२०१६ मा भूपि शेरचन, कृष्णभक्त श्रेष्ठ लागयत साथीहरूसित मिलेर उनले ‘रोदीघर’ साहित्यिक संस्था खोले। त्यो संस्थाबाट साहित्यिक कार्यक्रमहरूको आयोजना गरेर उनले साहित्यकारहरूका लागि नयाँ वातावरणको सिर्जना गराएका थिए । त्यसै वर्षदेखि उनी तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागीरेका रुपमा सहभागी भएका थिए।
