माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँध जाने सडक बनाइँदै

संखुवासभा। संखुवासभाको भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग बनाउन थालिएको छ।

हेलिकप्टरबाट निर्माण सामग्री ल्याएर पहुँचमार्ग बनाउन थालिएको हो। पहुँचमार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ।

अर्धजलाशययुक्त उक्त आयोजनाका लागि पहुँचमार्ग बनाउन जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान गरिएको आयोजनाका प्रशासन प्रमुख पूर्ण चौहानले बताए। आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ।

भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको जनाइएको छ। उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी एक लाख ५० हजार तोकिएको थियो।

सम्झौताअनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने भएको छ। आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन १३ करोड ६५ लाख रुपैयाँ वन विभागलाई भुक्तानी गरिसकेको जनाएको छ।

उक्त मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुल पनि बनाइने भएको छ। भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *