अचेत भेटिएका जौबारीका युवकको मृत्यु
सांकेतिक तस्बिर
इलाम। अचेत अवस्थामा भेटिएका इलाम नगरपालिका–१० जौबारीका २३ वर्षीय अभिषेक भण्डारीको मृत्यु भएको छ। उनी आज बिहान अचेत अवस्थामा फेला परेका थिए।
उपचारका लागि परिवारले उनलाई झापाको बिर्तासिटी अस्पताल लगेका थिए। अस्पताल पुर्याएपछि चिकित्सकले उनको मृत्यु भएको जानकारी दिएका थिए।
सूर्योदय नगरपालिकाको करफोकमा हिजो शुक्रबार साँझ आयोजित कन्दरा ब्याण्डको कन्सर्ट हेर्न उनी घरबाट हिंडेका थिए।
जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईका अनुसार ती युवक जौबारी नजिकै मेची राजमार्गको छेउमा अचेत अवस्थामा भेटिएका थिए। उनको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको डीएसपी राईले जानकारी दिए। घटनाबारे अनुसन्धान थालिएको उनले बताए।
प्रतिक्रिया
