आज ठाउँ ठाउँमा पानी पर्न सक्ने, हिमपातको पनि सम्भावना
काठमाडौं। चिसो याम सकिएर गर्मी लाग्ने क्रमसँगै मौसममा फेरबदल भइरहेको छ। ठाउँ ठाउँमा हिउँदे वर्षा भइरहेको छ। आज बिहीबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मुुककका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनसक्ने सम्भावना छ। हिउँद सकिन लाग्दा पश्चिमी वायु सक्रिय भएको छ। त्यही असरले वर्षासँगै हिमपात हुनसक्ने महाशाखाको भनाइ छ। उच्च भूभागहरुमा हिउँ पर्न सक्ने जनाइएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाइएको छ। मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्नसक्ने महाशाखाले जनाएको छ।
खासगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँद मानिन्छ। यस अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेको थियो। यसपटक भने निकै कम वर्षा भएको छ। सरदर १० मिलिमिटर मात्रै वर्षा भएको महाशाखाले जनाएको छ।
