भुटानलाई हराउँदै झापा ११ फाइनलमा

झापा। झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ। भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो।

९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो। घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो।

एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो। भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो।

खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए।

दोस्रो हाफको अतिरिक्त समयमा रोहन कार्कीले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए। झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिए।

अतिरिक्त समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्याए। समिर तामाङको क्रसपासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरे।

खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके। खेलको १७ औँ मिनेटमा भुटानका तुसार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे।

खेलको १४ औँ भुटानले अग्रता लिने अवसर गुमायो । हेमराज भुजेलको पावरफुल प्रहार क्रसबारको मध्य भागमा लागेर फर्कियो। खेलको ३७ औँ मिनेटमा झापाका समिर तामाङले पेनाल्टी एरियामा चुके।

खेलको ६८ औँ मिनेटमा झापाका बबिन बोहोराको प्रहार क्रसबार नजिकैबाट बाहिरियो। खेलको ८३ औँ मिनेटमा पेनाल्टी एरियामा झापाका समिर तामाङको क्रस पासमा एरोन थापाले गरेको प्रहार गोलकिपर रसाइलीले रोके।

खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए। उनले नगद २१ हजार र ट्रफी पाए।

झापाका सहायक प्रशिक्षक सन्तोष गुरूङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए।

भुटानका प्रशिक्षक दोर्जी खन्डुले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोल किपर चुक्दा हार व्यहोर्नु परेको बताए। केपी ओेली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेल फागुन १६ गते हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए।

गोल्डकपको विजेताले नगद १३ लाख र आकर्षक ट्रफी तथा उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *