पशुपति क्षेत्र आसपास मासु र मदिरा निषेध

काठमाडौं। पशुपति क्षेत्र आसपास मासु र मदिरा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्र आसपास मासु र मदिरा निषेध गरेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना जारी गर्दै महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जानकारी गराएका हुन्।

प्रजिअ तिवारीद्वारा जारी सूचनामा भनिएको छ, ‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवं दिव्य रूपमा सम्पन्न गर्न भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी मिति २०८१–११–१२ गतेदेखि २०८१–११–१५ गतेसम्मका लागि देहायका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ।’

सूचनाविपरीत कुनै काम गरेमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ। प्रशासनले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क (उमाकुण्ड) गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भाग चार किल्ला तोकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *