उदयपुरमा बस र ट्रक ठोक्किए, १ जनाको मृत्यु, २६ घाइते

उदयपुर। जन्ती बोकेको बस र मिनी ट्रक आपसमा ठोक्किएर बिहीबार राति उदयपुरको उदयपुरगढीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर छ।

उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर खड्काका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएका थिए।

बाराबाट जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बस र गाईघाटबाट तेजपत्ता बोकेर जाँदै गरेको मिनी ट्रक एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर बसमा सवार बाराको बारागढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामीको मृत्यु भएको छ।

जन्ती आउँदा दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति ११ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।

इन्स्पेक्टर खड्काका अनुसार दुर्घटनामा परेर बाराको बारागढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएका छन्। तीनै जनाको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बसका चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–११ का ४५ वर्षीय कपिलदेव थारु, ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ का २५ वर्षीय सजाद आलम, सहचालक जितपुरसिमरा–२४ का अन्दाजी २४ वर्षीय सयमर देवानसमेत घाइते भएका छन्।

उनीहरुको अवस्था सामान्य छ। जिल्ला अस्पताल उदयपुरमा उपचारपछि बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकमा चालक र सहचालक मात्रै सवार थिए।

दुर्घटनामा परेर बसमा सवार बारागढी–४ का ५८ वर्षीय अनौठा चौधरी, ३३ वर्षीय हिरालाल राम, ५० वर्षीय रामबोध धामी, ५१ वर्षीय काशी चौधरी, ५५ वर्षीय कृष्ण चौधरी, ७० वर्षीय तुलसी साह, ३६ वर्षीय लालबहादुर चौधरी, ५० वर्षीय नन्दलाल साह र ३५ वर्षीय दिनेश चौधरी घाइते भएका छन्।

अन्य घाइतेहरुमा १४ वर्षीय प्रमोद माझी, ५० वर्षीय जितेन्द्र चौधरी, ५२ वर्षीय वीरेन्द्र धामी, ६० वर्षीय राजदीर चौधरी, ४८ वर्षीय वीरेन्द्र चौधरी, ३६ वर्षीय दिनेश चौधरी, ५२ वर्षीय जयराम चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी, ६८ वर्षीय सुजन चौधरी, ५३ वर्षीय तोकन चौधरी र ६० वर्षीय गिरिश कानु छन्।

प्रहरीका अनुसार यान्त्रिक गडबडीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *