झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टरफाइनलमा
झापा। झापा ११ एफसी भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
भद्रपुरस्थित मेची रंगशालामा भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो। झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग ब्यहोरेको हारको बदला लिएको छ।
झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे। एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए। उनको गोल नै निर्णायक बन्यो।
झापाले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ। बी डिभिजन लिगको तयारी गरिरहेको झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्रलाई पहिलो खेलबाटै घर फर्काएको छ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि थप गोल भने हुन सकेन। खेलको २१औँ मिनेटमा झापाका स्टाइकर पेनाल्टी एरियामा अनर्माक रहेका बोहोराले पाएको अवसर खेर फाले।
६२ औँ मिनेटमा काउन्टर अट्याक गरेका झापाका हरिबहादुर आले मगरको शक्तिशाली प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गरे। खेलको ७८ औँ मिनेटमा झापाका प्रदिप बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलकिपर श्रेष्ठले रोके। ८० औँ मिनेटमा एलन थापाले गोल गर्न नसक्दा झापाले अग्रता दोब्बर बनाउन चुक्यो।
मछिन्द्रले खेलको २०औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो। सनिस श्रेष्ठको कर्नर प्रहारमा विदेशी खेलाडी ओमोलाजा करिमको हेडर पोस्टमा लागेर फर्कियो। ३८ औँ मिनेटमा सौरभ लिम्बूको कडा प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरे।
८१ औँ मिनेटमा अशिषेक गुरुङ, दयानन्द सिंह र सनिस श्रेष्ठले पेनाल्टी एरियामा पाएको अवसर गुमाए। ८६ औँ मिनेटमा आदित्य शाक्यको प्रहार बारमा लागेर फर्किंदा मछिन्द्र निराश बनेको थियो।
खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर लिम्बू भए। उनले नगद २१ हजारसहित ट्रफी पाए। शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ।
