कोशीका १३ जना अगुवालाई ‘एक्सिलेन्स अवार्ड’
सुनसरी। ‘प्रदेश खबर’ डिजिटल पत्रिकाले तेस्रो वर्ष प्रवेशका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका १३ जनालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ। उक्त पत्रिकाको सञ्चालक नयन एड्भरटाइजिङ मिडिया प्रा.लि. ले बुधबार इटहरीमा कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरेको हो।
उक्त अवार्ड शिक्षा विधातर्फ प्रा. डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरियो। स्वास्थ्य विधामा डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, साहित्य विधातर्फ झमककुमारी घिमिरे र सामाजिक विधातर्फ गीता गौतमलाई प्रदान गरियो।
यस्तै, कृषि तथा महिला उद्यम विधातर्फ शान्ता बास्कोटा, खेलकुदतर्फ दिलिप राई, बैंकिङतर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटनतर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधितर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगतलाई अवार्ड प्रदान गरिएको थियो।
वरिष्ठ भाषाविद् प्रा.डा.न्यौपाने नेपाल बाहिर भएका कारण उनको अवार्ड डा. टोलानाथ काफ्लेले ग्रहण गरे। साहित्यकार घिमिरेको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनको अवार्ड शिक्षासेवी लेखनाथ घिमिरेले ग्रहण गरे। युवा उद्यमी पारस लुनियाँ नेपाल बाहिर भएका कारण उनका प्रतिनिधि कपिल रेग्मीले अवार्ड ग्रहण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ट्रफी र विभूषणपत्र प्रदान गरेका थिए। यसै अवसरमा विभिन्न क्षेत्रका १२ जनालाई सम्मान पनि गरिएको थियो।
सम्मानित हुनेहरूमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई छन्।
त्यस्तै, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू दाहाल, अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालका सबैभन्दा अग्ला व्यक्ति राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल सम्मानित भएका छन्।
संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव ढकाल, माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल र नव दृष्टि आँखा अस्पतालका विजय गौतमलाई सम्मान गरिएको छ।
नयन एड्भरटाइजिङका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्रदान गर्न व्यक्ति छनोटका लागि समिति बनाइएको थियो। उक्त समितिले सिफारिस गरेका आधारमा अवार्ड प्रदान गरिएको उनले बताए।
यसै अवसरमा सुनसरीका ३ सय जना सञ्चारकर्मीहरूका लागि एनएलजी इन्स्योरेन्ससँग निःशुल्क दुर्घटना बीमाका लागि सम्झौता गरिएको छ। एनएलजी इन्स्योरेन्स इटहरीका वरिष्ठ अधिकृत भेषराज थापालाई बीमा गरिएको सञ्चारकर्मीको नामावली बुझाइएको थियो।
अधिकारीका अनुसार बीमा सम्झौता १ वर्षको रहनेछ। यसबीचमा कोही दुर्घटना परिहालेको अवस्थामा १ लाख रुपैयाँसम्म उपचार खर्च प्राप्त गर्न सकिने अधिकारीले बताए।
