भद्रपुर झापा गोल्डकपः भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

झापा। भद्रपुर झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ। भद्रपुरस्थित मेची रंगशालाम भएको खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोलले पराजित गर्दै भद्रपुर क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लो सले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो। ३९औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो। सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याए।

त्यस्तै, खेलको ४२ आँै मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिंगल खेल्दै गोल गर्न सफल भए। दार्जिलिङका गोलरक्षक सिंहसँग वानटुवान स्थितिमा उनले गोल गरे।

खेलको ७२औँ मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे। पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सिर्जना गरेको थियो। ५०औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे।

यस्तै, ५५औँ   मिनेटमा नयन प्रधानले अर्काे गोल थपे। आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे। खेलको ७०औँ मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए।

खेलको ३४ औँ मिनेटमा आशिष चापागाईंको क्रस पासमा मिलन राईले गरेको पावरफुल प्रहार दार्जिलिङका गोलरक्षक सिंहले पञ्च गरेर बचाउ गरे। ५३ औँ मिनेटमा आशिष चापागाईंले विपक्षी गोल रक्षकसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन्।

खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए। उनले नगद २१ हजारसहित ट्रफी पाए। उनलाई पुरस्कार प्रायोजक चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान गर्यो।

बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी दिए।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय प्रतियोगिता भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर छन्।

भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा छन्। गोल्डकपको उद्घाटन राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ। गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिताभरिको सर्वाेत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ्न।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ। प्रत्येक दिन टिकट काट्ने भाग्यशाली दर्शकलाई आकर्षण पुरस्कारको पनि व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *