बालबालिका ६ वर्ष पुगेपछि मात्रै कक्षा १ मा भर्ना लिन सुझाव

काठमाडौं। बालबालिका ६ वर्ष पुगेपछि मात्र एक कक्षामा भर्ना लिनुपर्ने सुझाव सरकारलाई दिइएको छ। पठनपाठन सम्बन्धी विज्ञ सम्मिलित अध्ययन समितिले यस्तो सुझाव दिएको हो। एक कक्षा भर्ना हुनुअघि बालबालिकाले पढ्नुपर्ने एक वर्षे पूर्वप्राथमिक तह (ईसीडी) का लागि ४ वर्ष उमेर पूरा भइसकेको हुनुपर्ने समितिले सिफारिस गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा रहेको समितिले ईसीडीको अवधि एक वर्ष मात्र कायम गर्दै निजी तथा सामुदायिक विद्यालयमा एकरूपता ल्याउनुपर्नेमा जोड दिएको छ। अनिवार्य तथा निःशुल्ल्क शिक्षा ऐनले कक्षा एकमा भर्ना हुनुअघि एक वर्षको ईसीडी सञ्चालन गर्ने व्यवस्था गरेको छ। तर निजी विद्यालयले मन्टेश्वरी सञ्चालन गरी नर्सरी, एलकेजी, यूकेजीका नाममा २ देखि ३ वर्षसम्म ईसीडी कक्षाको अभ्यास र आम्दानी गर्दै आएका छन्।

बालबालिका ४८ महिना पूरा भएपछि मात्र ईसीडीमा भर्ना गर्ने र ६० महिना पुगेपछि कक्षा एकमा भर्ना गर्न सुझाव दिइएको संयोजकले शर्माले जानकारी दिएका छन्। ईसीडीमा भर्ना नभए पछि ६० महिना पूरा भएका बालबालिकालाई कक्षा एकमा भर्ना लिन समितिले सुझाव दिएको छ। ४ वर्ष पूरा नभएका बालबालिकालाई हेरचार केन्द्र (प्ले ग्रुप) सञ्चालन गर्न सकिने समितिको भनाइ छ।

व्यस्त अभिभावकको बाध्यतालाई ध्यानमा राखेर स्थानीय तहको पहलमा हेरचाह केन्द्रसञ्चालन गर्न सकिने सुझाव समितिले दिएको हो। ईसीडीका विविध विषयमा अध्ययन गर्न गठित समितिले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको व्यावहारिक अवस्थालाई अध्ययन गरेर सुझाव दिएको जनाएको छ। समितिमा शिक्षक महासंघ, अभिभावक महासंघ, निजी विद्यालयका प्रतिनिधि र पूर्वप्राथमिक तहका विज्ञ सदस्य थिए।

समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई आफ्नो सुझाव सहितको प्रतिवेदन बुझाएको छ। भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको व्यवस्था कार्यान्वयन गर्न र ईसीडीमा एकरूपता ल्याउन भन्दै विज्ञ सम्मिलित समिति गठन गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *