भारतमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध विराटनगरमा प्रदर्शन
विराटनगर। नेपाली विद्यार्थी प्रकृति लम्सालको भारतमा शंकास्पद मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा मंगलबार विद्यार्थीले प्रदर्शन गरेका छन्।
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुले भारतीय नम्बर प्लेट भएका सवारी साधनलाई अवरोध पनि गरेका थिए।
भारत ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको हो। उक्त प्रकरणपछि नेपाली विद्यार्थीहरु आन्दोलित छन्।

आन्दोलनकारीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने भएका छन्। भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा प्रवेश निषेध गर्नेलगायतका कार्यक्रम पनि रहेको उनीहरुले जनाएका छन्।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन्। उनको शंकास्पद मृत्युपछि न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई कलेज प्रशासनले दमन गरेको थियो।
उक्त कलेजमा लगभग १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन्। प्रकृतिको मृत्यु प्रकरण र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दमनको विरोधमा नेपालभर विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन्।
