प्याजमा आत्मनिर्भर बनाउन झापाका किसानलाई ५० प्रतिशत अनुदान
झापा। आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले झापामा ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती गर्न प्रोत्साहन गरेको छ।
शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए।
उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले बताए।
‘प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो’, उनले भने, ‘किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना अगाडि सारिएको हो।’
व्यावसायिक खेती प्रवर्द्धनका लागि परियोजनाले चालु आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ५० हजार बजेट विनियोजन गरेको छ।
प्रमुख सुवेदीका अनुसार परियोजनाले प्याजखेतीका निमित्त खुल्ला रुपमा प्रस्ताव आह्वान गरेको थियो ।१३ किसानले प्रस्ताव पेस गरे पनि ११ जनाले मात्र खेती गरेको उनले बताए। आयातित प्याजको दिनानुदिन भइरहने मूल्यवृद्धिलाई समेत स्वदेशी उत्पादनले कम गर्ने उनको धारणा छ।
