पाथीभरामा केबलकार निर्माणको पक्षधरमाथि दुर्व्यवहार

सुनसरी। ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको पक्षमा देखिएका धरानमा आइतबार एक जनालाई मोसो दलेर दुर्व्यवहार गरिएको छ। उनीमाथि कुटपिट पनि भएको छ।

ताप्लेजुङ घर भएका पदम चेन्जी माबोले केबलकार निर्माणको पक्षमा अभिव्यक्ति दिंदै आएका थिए। त्यही निहुँमा धरान उपमहानगरपालिका-९ पुतली लाइनमा मोसो दलेर कुटपिट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्षका कार्यकर्ताको संलग्नता पाइएको छ। केबलकारको समर्थन गरेको र विरोध गर्नेलाई गालीगलौज गर्ने गरेका कारण मोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनको भनाइ छ।

घटनाबाट पीडित बनेका माबोले भने आफूलाई दुर्व्यवहार गर्नेमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले घटनामा संलग्नको खोजी भइरहेको बताए।

माबोमाथि दुर्व्यवहार हुँदा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, संघर्ष समितिका नेता जेन्टल लावतीलगायत उपस्थित थिए। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको मुक्कुम्लुङ संघर्ष समितिले विरोध गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *