उदयपुरको माथिल्लो खसिबासमा खानेपानी समस्या
उदयपुर। उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासमा अझै पनि खानेपानीको समस्या छ। खानेपानी अभावका कारण स्थानीय बासिन्दा पिरोलिँदै आएका छन्।
लामो समयदेखि अभाव हुँदा पनि त्यस क्षेत्रमा खानेपानीको योजना सञ्चालन हुन सकेको छैन। त्यसैले स्थानीय खोलाको पानी पिउन बाध्य छन्। हिउँद लागेपछि खोलाको पानी पनि सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन्।
‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको ज्यादै समस्या छ’, स्थानीय ज्ञानबहादुर तामाङ भन्छन्, ‘लुगा धुन, नुहाउन त तल्लो गाउँतिर जानुपर्छ, गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ।’
तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ। माथिल्लो क्षेत्रमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन। वर्षामा खोलामा वाढी आउँदा पिउने पानीसमेत अभाव हुने गरेको स्थानीय रुद्रबहादुर राईले बताए। हिउँदमा खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्ने उनको भनाइ छ।
माथिल्लो खसिबासका ५०–६० घरमा पानीको समस्या छ। तल्लो खसिबासमा पनि आयोजनाबाट सञ्चालित पानी पर्याप्त छैन। खोलामा मोटर जोडेर पानी प्रयोग गर्नेलाई वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानी घट्ने भएकाले समस्या रहेको स्थानीय बताउँछन्। चारैतिर चुरे वनले घेरिएको यो गाउँ पशुपालनका लागि उपयुक्त भए पनि पानीको समस्या रहेको स्थानीय बताउँछन्।
(रासस)
