‘मुर्गा’ बन्न नमान्दा सामूहिक कुटपिटपछि मृत्यु

काठमाडौं। बाराको नवजन्म सुधार केन्द्रमा १५ दिनअघि भर्ना भएका प्रदीपप्रसाद मण्डलले मुर्गा (कुखुरा) बन्न नमान्दा सामूहिक कुटपिटबाट मृत्यु भएको खुलेको छ।

प्रहरीले गरेको सोधपुछमा पक्राउ परेकाहरूले मृतक मण्डलले मुर्गा बन्न नमान्दा गरिएको कुटपिटबाट मृत्यु भएको बयान दिएका छन्। अनुशासन भङ्ग गरेपछि उनलाई शारीरिक सजाय दिने तय भएको उल्लेख गर्दै उनीहरुले सबैले रिसाउँदै कुटेको बयान दिएका छन्।

बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार मण्डललाई बिहीबार राति अनुशासन भङ्ग गरेको भन्दै सजाय दिन खोज्दा नमानेपछि भएको कुटपिटका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मध्यराति कोठाभित्र मुक्काले अनुहारमा कुटपिट गरिएको पाइएको उनको भनाइ छ। शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको तर नमानेपछि कुटपिट गरिएको पाइएको एसपी तामाङको भनाइ छ।

कुटपिटबाट घाइते मण्डललाई केन्द्रका परामर्शदाताले सुरुमा उपचारका लागि कलैया सिटी अस्पताल लगेका थिए। त्यहाँ उपचार नहुने भएपछि मण्डललाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ पु‍र्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएका थिए।

पक्राउ परेका ७ जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *