कविता भुतुक्कै लजाइन्, अनि ज्ञानेन्द्र मस्किए

कति माया लाग्छ उसको ?

– ‘यत्ति धेरै….’

अनि उसको नि ? – धेरै….!

पहिलो प्रश्न थियो नवदुलही कवितालाई । उनले दुवै हात तनक्क पारेर सकेजति फैलाउँदै जवाफ दिएकी थिइन् । दोस्रो प्रश्न उनका दुलाहा ज्ञानेन्द्रलाई । उनले लेखेर अनि उसैगरी हात फैलाएर जवाफ दिएका थिए ।

मनका कुरा घाँटी अनि मुखमा रहेका ज्ञानेन्द्रियका माध्यमले व्यक्त गर्दा सुन्नेले प्रस्ट बुझ्छ । मनोभावना, माया प्रेम अनि पीडा व्यक्त गर्न सामान्य मानिसलाई सहज छ, सुन्ने मानिस पनि सामान्य अवस्थाको भए । तर के बोलेर व्यक्त गर्न नसक्नेले मायाप्रेम र पीडा अनुभव गर्दैन अनि व्यक्त गर्न सक्दैन त ?

पटक्कै होइन । शारीरिक रूपमा ‘अपांग’ भनिने यस्ता मानिसको कुनै न कुनै रूपमा अरू क्षमता बढी हुन्छ भन्ने आम बुझाइ छ । यिनलाई भेट्दा यस्तै लाग्छ पनि । कुरा हो केही समयअघि वैवाहिक बन्धनमा बाँधिएका मोरङको टंकीसिनवारी, गैह्रीटोलका ज्ञानेन्द्र अधिकारी र विराटनगर ४ की कविता पौडेलको ।

कानमा खराबीले सुन्न नसक्ने उनीहरू बोल्न पनि सक्दैनन् । विराटनगरस्थित बहिरा विद्यालयमा सँगै पढेका यी सहपाठी अब जीवनकै सहयात्री बनेका छन् ।

सुरुको पढाइ अलग शिक्षालयमा भए पनि सात कक्षादेखि सँगै पढ्न थालेको ज्ञानेन्द्रका बुबा पुण्यप्रसाद अधिकारी बताउँछन् । तीन वर्षअघि सँगै एसएलसी दिएर पहिलो श्रेणीमा उत्तीर्ण भएका दुवै ११ कक्षामा दोस्रो श्रेणीमा पास भएका छन् । अहिले दुवै १२ कक्षाको परीक्षा दिएर काममा लागेका छन् । ज्ञानेन्द्र उपमहानगरपालिकाले सञ्चालन गरेको पार्किङ शुल्क उठाउने काममा छन् भने कविता आफैँ पढेको विद्यालयमा अध्यापन गर्दै छिन् ।

कसरी बिहे भयो त दुईजनाको ? यो प्रश्न लेखेर देखाउँदा दुवैले केटाका बुबा पुण्यप्रसादतिर आँखा सोझ्याए । अनि उनी बोले, ‘यिनका (केटीका) मामा गणेशप्रसाद कोइरालासँग चिनजान थियो, कुरैकुरामा केटोको बिहेको चर्चा भयो अनि उहाँले आफ्नी भान्जीको कुरा निकालेर जोडी बाँधिदिउँ, गरिखान्छन् भनेपछि हामीलाई पनि चित्त बुझ्यो ।’

अभिभावकबीच को मिले पनि केटाकेटीलाई सोध्न बाँकी थियो । पुण्यप्रसादले छोरालाई सुनाए- कवितासँग तेरो बिहे पो गर्दिउँ भन्ने हामीले सोचेको । ‘छोराले सांकेतिक भाषामा लजाउँदै जवाफ फर्काए, ‘कहाँ हुन्छ, सँगै पढेको साथीसँग बिहे…!’ (औपचारिक नसिकेको भए पनि ज्ञानेन्द्रका बुबाआमा धेरथोर सांकेतिक भाषा काम चलाउँदा रहेछन् ।)

‘सुरुमा त नमानौंलाजस्तो गर्यो’ बुबा सुनाउँछन्, ‘तर आमाले पनि कुरा गरिसकेपछि मान्यो, केटी पनि राजी भइन् अनि लगनगाँठो गाँस्ने तय भएको हो ।’ त्यसो त, पाँच वर्षसम्म सँगै पढ्दा एकअर्काको घर आउजाउ निकै चल्थ्यो रे दुवैको । तर उनीहरूबीच मायाप्रीति भएको भन्ने कहिल्यै नझल्केको र आफूहरूले अनुभव नगरेको पुण्यप्रसाद बताउँछन् । ‘भित्री मनमा के थियो, कसरी चाल पाउनु’ भन्छन्, ‘यस्तो कुरामा हामीले त्यति दख्खल दिने कुरा पनि भएन ।’

अचेल यी दुईको जोडी देखेर अभिभावक, आफन्त र छरछिमेक सबै प्रसन्न छन् । केटाकी आमा छोराको के अवस्था होला भन्ने चिन्ता अचेल नरहेको बताउँछिन् । ‘मन मिल्ने, सबै कुरा मिल्ने जोडी पाएको छ’ भन्छिन्, ‘क्षमतावान छन्, मिलेर गरिखान्छन्, अब चिन्ता छैन ।’ केटीका बुबा चक्रप्रसाद र आमा इन्दिरालाई पनि छोरीको मन मिल्नेसँग बिहे गर्न पाएकामा सन्तोष लागेको रहेछ ।

बिहे गरेपछि कस्तो अनुभव हुँदोरहेछ त ? यो प्रश्न लेखेर दिएको कापीमा ज्ञानेन्द्रले कवितासँग साउती मारेझैँ गरेपछि लेखे- एकदम ठीक, धेरै राम्रो । दुवैको इच्छा काठमाडौंमा गएर बीएड पढ्ने अनि राम्रो शिक्षक बन्ने रहेछ ।

पढेर वा कामबाट घर फर्केपछि सबै कुरा च्याट्ट मिलेको, सबैतिर सफा सुग्घर भएको मनपर्ने दुवैको समान बानी रहेछ । केही लथालिंग भएको वा कतै अलिकति पनि फोहर देखे तुरुन्तै आफैँ लागेर सफा गर्ने अनि व्यवस्थित गर्ने बानीले अभिभावकलाई पनि धेरै सुधारेको पुण्यप्रसादको अनुभव छ ।

बिहेलगत्तै धरान र झापाका विभिन्न मठमन्दिर घुमेको दुवैले बताए । कविताले समाएको कापीमा ज्ञानेन्द्रले लेखे- ‘नातेदारहरूकहाँ गयौं, घुम्यौं, धेरै रमाइलो भयो, सबैले माया गर्छन्, हामी धेरै खुसी छौं ।’ एकअर्काको मनपर्ने र नपर्ने बानीका बारे सोध्दा दुवैले सबै कुरा मनपर्ने बताए ।

सन्तान जन्माउनेबारे दुईजनाबीच के सल्लाह भएको छ ? कापीमा लेखिएको यो प्रश्न पढ्नासाथ कविता भुतुक्कै लजाइन् । ज्ञानेन्द्र पनि मस्किए । उत्तर लेख्न दिइएको कापी दुवैले एकअर्कालाई पन्साए । दोहोर गरिएको अनुरोधमा आपसमा एकछिन सांकेतिक बोलचालपछि कविताले लेखिन्- ‘अब एक, दुई वर्षपछि मात्रै, केटा १, केटी १ ।’ त्यसमा ज्ञानेन्द्रले थपे- यो सिद्धान्त नै हो नि !

(अर्काइभबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *