अरूण तेस्रो जलविद्युत आयोजनाद्वारा मुआब्जा दिन सुरू

संखुवासभा। निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन्।

आयोजनाको प्रवेश मार्ग छ्याङ्कुटी–दिदिङ सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वाेच्च अदालतको आदेश अनुसार उक्त सडकखण्डको २४.५ किलोमिटर अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो।

आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा वापतको रकम हालसम्म चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताए। खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए।

२०८० वैशाख २६ गते छ्याङ्कुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो।

छ्याङकुटी–दिदिङ सडक खण्डको २४.५ किलोमिटर जग्गाको मुआब्जा २०४६ सालमै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले पाएका थिएनन्। गत माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयानुसार प्रवेशमार्ग सडकखण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *