कोशीटप्पुमा पोहोरभन्दा बढी प्रजातिका चरा

सुनसरी। कोशीटप्पु वन्यजन्तु आरक्षमा ७६ प्रजातिका चरा भेटिएका छन्। आरक्ष र आसपास क्षेत्रमा गरिएको गणनामा भेटिएको यसपालिको संख्या विगतको तुलनामा बढेको रहेको जनाइएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । पुस २६ देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेको जनाइएको छ।

यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एक-एक वटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताए।

सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उनले बताए। सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोला नालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।

असोजदेखि अन्यत्रबाट पुससम्म चरा आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने गरेका छन्। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष ‘चराको स्वर्ग’ मानिन्छ। आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने गर्छन्। दुर्लभ चराहरुको बासस्थान मानिने कोसीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन्।

गत वर्ष चखेवा, जलहाँस, बिजुला गोइरी, श्वेत आँखी भुइँलगायत जातका चरा कोशीटप्पु क्षेत्रमा देखिएका थिए। यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिएका थिए।

चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका आगन्तुकहरु आरक्ष क्षेत्रमा आउने गरेका छन्। आरक्ष क्षेत्रमा रहेका सिमसारहरु सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले भने चराको विचरण क्षेत्र प्रभावित हुँदै आएको छ।

सिमसारहरु व्यवस्थित गर्दै चरा र वन्यजन्तुहरुको संरक्षणका लागि केन्द्रीयदेखि स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने बराहक्षेत्रका भीष्म अधिकारी बताउँछन्। उनका अनुसार आरक्ष क्षेत्रमा रहेका जलाशय र सिमसारमा रहेका माछा स्थानीय बासिन्दाले संकलन गर्ने भएकाले चराको आहारामा कमी आएको छ।

सिमसारहरु सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको जनाइएको छ। स्थानीय जनप्रतिनिधि भने स्थानीय सरकारको अधिकार र बजेट कटौती जस्ता कारणले चाहेर पनि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा संरक्षणको काम अपेक्षित रुपमा गर्न नसकिएको बताउँछन्।

पर्याप्त बजेट र अधिकार दिइए आरक्ष क्षेत्रको विकासमा स्थानीय सरकारले गर्न सक्ने काम धेरै रहेको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ छ। २०६५ भदौ २ गते कोसी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थानहरु प्रभावित भएका थिए । त्यसयता आरक्ष क्षेत्र आसपास मानवीय गतिविधि बढ्नुले पनि प्रभाव परेको जनाइएको छ।

लामो दूरी बसाइँ सर्ने चराको अध्ययन र संरक्षणको पहल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *