सुनवर्षीमा मुस्लिम समुदायको ‘इजतेमा’, हजारौं सहभागी
विराटनगर। मोरङको सुनवर्षीमा मुस्लिम समुयदायको ‘इजतेमा’ सुरु भएको छ। सुनवर्षी नगरपालिका–८ को सिक्टी क्षेत्रमा सोमबार सुरु भएको इजतेमामा २२ हजारभन्दा बढी सहभागी रहेको जनाइएको छ।
इजतेमा तीन दिनसम्म चल्ने नेपाल मुस्लिम संघका केन्द्रीय सचिव अफजल हुसैन गुल्जारले जानकारी दिए। उनका अनुसार मुस्लिम धर्म अनुसार इजतेमामा सहभागी भएका अनुयायीलाई धर्म गुरुले प्रवचन दिनेछन्।
बुधबार ‘दुवा’ गरेर कार्यक्रमको समापन हुने जनाइएको छ। कार्यक्रम दुई महिना अघि नै तय भइसकेको र स्थानीय समुदायको समन्वयका कारण सहज भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार स्थानीय मुस्लिम समिति र सुरक्षा निकायबीच समन्वय भइरहेको छ। भारतबाहेक अन्य मुलुकबाट नागरिकलाई प्रवेशमा रोक लगाएको उनले बताए।
इजतेमाको सुरक्षाका लागि नेपाल प्रहरीबाट ४ सय २५ र सशस्त्र प्रहरी बलबाट १ सय २५ गरी कुल ५ सय ५० जना सुरक्षाकर्मी खटिएका छन्।
