ताप्लेजुङका जनप्रतिनिधि पाथीभरामा केबलकार निर्माणको पक्षमा
ताप्लेजुङ। पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार बनाउने र नबनाउने विषयमा विवाद भइरहेका बेला ताप्लेजुङका जनप्रतिनिधि बनाउनुपर्ने पक्षमा देखिएका छन्। केबलकार निर्माण हुँदा धर्म, पहिचान, संस्कार र संस्कृतिमा असर नगर्ने उनीहरुको भनाइ छ।
फुङलिङमा सोमबार पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधिहरुले केबलकार निर्माणमा जिल्लावासीको विरोध छ भनेर भ्रम फैलाएको आरोप पनि लगाए।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन र वडाअध्यक्षले ‘नो केबलकार समूह’ मा जिल्ला बाहिरका केही व्यक्ति सक्रिय रहेको दाबी गरे। उनीहरुले केबलकार विरोधी बाहिरको पक्षले आन्दोलन गरिरहेको बताए।
मेयर मादेनले ताप्लेजुङको विकासका विषयमा देश विदेशबाट चासो राख्नु सकरात्मक भए पनि केबलकारको विषयमा अनावश्यक भ्रम फैलिएको उल्लेख गरे।
केबलकार निर्माण हुने फुङलिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष योगेश भट्टराईले आफ्नो वडाका शतप्रतिशत जस्तै जनता केबलकारको पक्षमा रहेको दाबी गरे। ‘मेरो वडाका जनताले विरोध गरे त्यहाँ बन्नै सक्दैन,’ उनले भने, ‘तर विरोधमा कोही पनि जनता छैनन्।’
यसैगरी, फुङलिङ–९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवाद निकालेर समुदायलाई विभाजित गर्न लागेकोमा आक्रोश व्यक्त गरे।
वडा नम्बर २ का मोहन न्यौपाने, ३ का टंक पालुङवा, ७ का योगेन्द्र निरौला, ६ का तेज गुरुङले केबलकार निर्माण गर्नुपर्ने भन्दै आन्दोलनरत समूहलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरे। वडा नम्बर ४ का दुर्गा पालुङवाले सहमति गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
केबलकार निर्माणको विरोधमा आन्दोलन हुँदै आएको छ। यस सम्बन्धमा सरकारी टोली र आन्दोलनकारीबीच पटक पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन।
पछिल्लो पटक आइतबार भएको वार्तामा कुनै निष्कर्ष निस्कन सकेन। आज सोमबार गृहमन्त्रीसँग आन्दोलनरत पक्षले वार्ता गर्ने भएको छ।
