१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको छ। चालु आर्थिक वर्षमा त्यति विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो।
आवासीय छात्रवृत्ति १२ हजार ६५ विद्यार्थीलाई ६० करोड ३२ लाख दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार छात्रवृत्ति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएको हो।
अपाङ्गता भएका, मुक्त कम्लरी, सिमान्तकृत समुदाय, सडक बालबालिका, एचआइभी प्रभावित, वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजारको दरले दिइएको हो।
यसैगरी, गैरआवासीय छात्रवृत्ति १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख दिइएको मन्त्रालयले जनाएको छ। कर्णाली प्याकेज अन्तर्गत कक्षा १–५ मा अध्ययनरत बालिकालाई वार्षिक एक हजार रुपैयाँ दिइएको हो।
दलित छात्रवृत्तिमा कक्षा १–५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड दिइएको छ। विपन्न लक्षित छात्रवृत्ति ६० करोड दिइएको मन्त्रालयले जनाएको छ। कक्षा ११–१२ विज्ञान विषयमा वार्षिक २४ हजार र अन्य विषयमा वार्षिक १८ हजार र कक्षा ६–१० का लागि वार्षिक ६ हजार दिएको जनाइएको छ।
यस्तै, प्राविधिक शिक्षा छात्रवृत्ति दलित, मुस्लिम, सिमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख दिइएको छ । यसमा मासिक निर्वाह भत्ता तीन हजार पाँच सय, यातायात खर्च वार्षिक एक हजार पाँच सय, पोसाक भत्ता वार्षिक दुई हजार पाँचसय रहेको छ।
उच्च शिक्षा छात्रवृत्तिमा स्नातकरस्नातकोत्तर तहका शहीद, द्वन्द्वपीडित, मुक्त कम्लरी, मुस्लिम महिला र अपाङ्गता भएका विद्यार्थीलाई वार्षिक २४ हजार छात्रवृत्ति दिइएको मन्त्रालयले जनाएको छ।
आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार दिइएको छ भने चिकित्सा शिक्षा छात्रवृत्तितर्फ १० हजार ५९४ विद्यार्थीका लागि पाँच अर्ब ११ करोड दिइएको मन्त्रालयले जनाएको छ।
