मोरङमा अबदेखि अनलाइनबाटै नागरिकताको सिफारिस
विराटनगर। मोरङमा अनलाइन माध्यमबाट नागरिकताको सिफारिस दिन थालिएको छ। विराटनगर महानगरपालिका–९ को वडा कार्यालयबाट विराटनगरका मेयर नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार अनलाइन सेवाको शुभारम्भ गरे।
मोरङमा १७ वटा स्थानीय तहमा १ सय ५९ वटा वडा छन्। सबै वडाबाट नागरिकताको सिफारिस अनलाइन प्रविधिमार्फत दिन थालिएको छ। मोरङको उर्लाबारी र रंगेलीमा पनि औपचारिक कार्यक्रम गरेर सेवाको शुभारम्भ गरिएको प्रजिअ यादवले बताए।
नेपाल सरकारले नागरिकता वितरणलाई सहज बनाउन सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (सीसीआईएमएस) नामक ‘सफ्टेवयर’ बनाएको छ। त्यसैमा राखिएको अभिलेखका आधारमा नागरिकता छापेर गरेर जारी गरिन्छ।
यसअघि वडा कार्यालयले अनुसूची सिफारिस गरेर नागरिकताका लागि जिल्ला प्रशासनमा पठाउनु पर्ने हुन्थ्यो। वडाले भरेर पठाएको अनुसूचीलाई प्रशासनले प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिको सनाखत गराएपछि सफ्टवेयरमा विवरण प्रविष्टि गरेर मात्रै नागरिकता जारी गरी वितरण गरिन्थ्यो। अब भने त्यस्तो विवरण राख्ने काम वडाबाटै हुनेछ।
सेवा शुभारम्भका अवसरमा बोल्दै प्रजिअ यादवले प्रविधिको प्रयोग गरी नागरिकताको सिफारिस दिन वडाध्यक्ष र कर्मचारीलाई कुनै प्रशिक्षणको आवश्यकता परेमा जिल्ला प्रशासनले सहजीकरण गर्ने बताए।
नागरिकता वितरणलाई सहज बनाउन सिफारिसलाई अनलाइन प्रणालीमा लगिएको उनले बताए। नागरिकताको सिफारिसका लागि अब वडामा पुग्ने सेवाग्राहीले पहिलेजस्तो झन्झट बेहोर्न नपर्ने प्रजिअ यादव बताउँछन्।
मेयर कोइरालाले जनताले सर्वसुलभ तरिकाले सेवा पाइयोस् भन्ने अपेक्षा राख्ने गरेका कारण प्रविधिकको प्रयोगले सहज बनाउने बताए।
