कोशीबाट बार काउन्सिल पार्षदमा राजु ढकाल निर्वाचित
विराटनगर। कोशी प्रदेशबाट नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) को पार्षदमा अधिवक्ता राजु ढकाल निर्वाचित भएका छन्।
शनिबार भएको मतदानबाट उनी निर्वाचित भएका हुन्। कोशीमा विराटनगर, इलाम, झापा, धनकुटा र उदयपुर गरी ५ वटा केन्द्रमा मतदान भएको थियो।
अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको गठबन्धनबाट उम्मेदवारी दिएका ढकालले ४ सय ५० मत प्राप्त गरे।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र) निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा) निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यले ४ सय २३ मत मात्रै पाए।
अधिवक्ता ढकाललाई विराटनगरबाट ३ सय ३१, इलामबाट १७, झापाबाट ६०, धनकुटाबाट १८ र उदयपुरबाट २४ मत प्राप्त भएको छ।
अधिवक्ता आचार्यलाई विराटनगरबाट २ सय ७४, इलामबाट ४०, झापाबाट ६१, धनकुटाबाट २१ र उदयपुरबाट २७ मत प्राप्त भएको थियो। विराटनगरमा ६ सय १२ मत खसेकोमा ७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विश्वराम भट्टराईले बताए।
बार काउन्सिलको पार्षद चयनका लागि शनिबार ७ वटै प्रदेशमा निर्वाचन भएको हो। काउन्सिलका लागि ७ वटै प्रदेशबाट १–१ जना पार्षद निर्वाचित हुने प्रावधान छ। प्रत्येक प्रदेशमा २–२ जनाको उम्मेदवारी परेको थियो।
काउन्सिलले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायतका क्षेत्रमा काम गर्छ। बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन्।
