बेलबारीमा संस्कृतदेखि बान्तावा, नेवारी, खवास र मैथिली भाषामा कविता

विराटनगर। मोरङको बेलबारी नगरपालिकाअन्तर्गत बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा बहुभाषी कविता गोष्ठी सम्पन्न भएको छ।

प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका नगर प्रमुख दिलप्रसाद राई प्रमुख अतिथिका रुपमा सहभागी थिए।

त्यस अवसरमा प्रतिष्ठानकी अध्यक्ष सुवेदीले बेलबारी नगरभित्रका भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र विस्तारका लागि आफूहरु लागिपरेको बताइन्।

विशिष्ट अतिथि प्रतिष्ठानकी संरक्षक तथा नगरकी उपप्रमुख नितु थापा कोइरालाले साहित्यले मनोरञ्जन मात्र होइन ज्ञान पनि दिने भएको हुनाले साहित्यको प्रवर्द्धन गर्नुपर्ने बताइन्।

कार्यक्रममा प्रेम गुरुङले गुरुङ भाषामा, शिवनारायण पण्डित सिङ्‌गलले मैथिली, शिव छाङछा र पारुहाङ राईले बान्तावा, हुपेन्द्र भण्डारीले संस्कृत, सन्देश तामाङ र भावना तामाङले तामाङ भाषामा कविता सुनाएका थिए।

यसैगरी, सरिता तुलाधर र बाल कवि तरुसा प्रधानले नेपाल भाषा (नेवारी), कलावती खवासले खवास, सुधार्नी राजवंशी, राजासाहेव राजवंशी र टङ्‌क राजवंशीले राजवंशी, सरस्वती याखाले याखा, अस्मिता उरावले उराव, भुवन कार्कीले अङ्‌ग्रेजी, शिव पराजुलीले हिन्दी, दुखनी दनुवारले दनुवार, दिप मङ्‌ग्राती भाषामा कविता सुनाएका थिए।

कार्यक्रममा विनोदकुमार चापागाईँ, युसन सापकोटा, शान्ता न्यौपाने, तीर्थराज सिग्देल, जुनु बुढाथोकी, फणिन्द्रप्रसाद निरौला, लक्ष्मी रेग्मी सुवेदी, मैया विश्वकर्मा र टीकाराम कार्कीले नेपाली खस, शेरबहादुर खपाङ्‌गी मगरले मगर, चक्र लोहोरुङले लोहोरुङ, सञ्जीव धिमाल, टीका धिमाल र सन्दिरा धिमालले धिमाल भाषामा कविता र गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा जेबी थुलुङ, भूपेन्द्रप्रसाद कोइराला, रमेश निरौला, केशु विरही, नवशीला, भगवती श्रेष्ठ, कविन्द्रराज धिमाल अतिथिका रुपमा सहभागी थिए।

त्यस अवसरमा बेलबारीका सर्जक भुवन कार्कीको ‘मलाई पनि’ बोलको गीत प्रस्तुत गरिएको थियो। बेलबारी नगरपालिकाको बेतना सभाकक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुलप्रसाद बरालले गरेका थिए भने कार्यक्रमबारे उपाध्यक्ष मनकुमार गुरुङले जानकारी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *