बुढासुब्बा गोल्डकप उपाधिका लागि एनआरटी र चर्चब्वाइज भिड्ने

सुनसरी। धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्चब्वाइज युनाइटेड क्लब काठमाडौंबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ।

एनआरटी तेस्रोपटक उपाधि नजिक पुगेको हो भने चर्चब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलोपटक फाइनल स्थान सुरक्षित गरेको हो।

एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसी भारतलाई पराजित गरेको थियो। चर्चब्वाइज चारपटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो।

यस सिजनमा चर्चब्वाइज र एनआरटी क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन्। यो सिजनमा खेलेको अनुभव बुढासुब्बाको फाइनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले बताए।

‘यस सिजनमा हामी फर्ममा छौँ यसअघि खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै काम गर्नेछ’ मालीले भने। चर्च ब्वाइज राम्रो टिम रहेकोले तयारीका साथ खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताए।

यसअघि एनआरटीले इलाम गोल्डकप उपाधि जितेको थियो। ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले एनआरटी कडा प्रतिस्पर्धीका रूपमा रहेको  बताए।

एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उनले बताए। एनआरटी राम्रो टिम हो तथापि राम्रो खेलेर टिमलाई उपाधि दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले बताए।

धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *