संस्थागत विद्यालय वर्गीकरण र शुल्क प्रस्ताव समिति गठन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले समितिले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्ताव समिति गठन गरेको छ।

नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीवार बसेको समितिको बैठकले यो निर्णय गरेको हो।

शिक्षा समितिका सदस्य एवं वडाध्यक्ष चिनीकाजी महर्जन, दिनेश महर्जन र विनोदकुमार राजभण्डारी समितिको सल्लाहकार छन्। आयोगका सहायक विज्ञ सस्मित पोखरेल, शिक्षा अधिकृत रुक्मिला इटनी, अभिभावक संघको अध्यक्ष वा सदस्य वा त्यस्तो संघ नभएमा अभिभावकहरुमध्ये २ जना मनोनित, महानगरपालिका स्तरीय प्याब्सन, एनप्याब्सन, शिक्षा विभागको इञ्जिनियर समितिको सदस्य हुन्। समितिको सदस्य सचिवको काम शिक्षा विभागका प्रमुखले गर्नेछन्।

मापदण्डका आधारमा विद्यालयको वर्गीकरणको प्रारुप तयार पार्ने, शुल्क सम्बन्धी सिफारिस तयार पार्ने, शुल्कबमोजिम सेवा सम्बन्धी अवस्था अध्ययन गरेर शिक्षा समितिमा पेश गर्ने दायित्व समितिलाई दिइएको छ। समितिले अभिभावकको भूमिका पहिचान गर्ने, विश्लेषण गर्नेछ।

महानगरले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ। शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको ‘स्पेसिफिकेसन’ सम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको हो। यसका लागि ३१३ थान बोर्डहरु खरिद गरिएका छन्।

बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ। काठमाडौं महानगरपालिका विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने व्यवस्था छ।

यसमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमध्ये एकजना, स्थायी शिक्षकहरुमध्ये आधारभूत र माध्यमिक तहबाट एक जना पर्ने गरी २ जना सदस्य शिक्षा समितिले मनोनयन गर्ने व्यवस्था छ।

यसअनुसार बाल व्यवसायी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गाना, कुलेश्वर माध्यमिक विद्यालयका माध्यमिक तहका गणित शिक्षक मञ्जु मगराती र विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका निम्न माध्यमिक तहका नेपाली शिक्षक विष्णुहरि अधिकारी मनोनित भएका छन्।

यस्तै, संस्थागत विद्यालयका शिक्षकहरुमध्ये ज्ञानमन्दिर माध्यमिक विद्यालयका शिक्षक रबिन बस्नेत र अभिषेक ज्ञान मन्दिर माध्यमिक विद्यालयका शिक्षक श्याम योञ्जन मनोनयन भएका छन्। समितिको सदस्य सचिवमा विभागबाट परीक्षा हेर्ने अधिकृत रहने छन्।

शिक्षक दरबन्दी मिलान सम्बन्धी प्रस्तावमा बैठकले छलफल गरेको थियो। काठमाडौँ महानगरपालिकाको दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम गठन गरिएको ‘दरबन्दी मिलान समिति’ ले शिक्षा समितिमा प्रतिवेदन पेश गरेको छ।

प्रचलित व्यवस्था र शिफारिसका बुँदा आपसमा बाझिएकोले २०८१ वैशाख ९ गते बसेको नगर शिक्षा समितिको बैठकले सहरी योजना आयोगका विज्ञ सदस्य इञ्जिनियर झाको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो। यो समितिले प्रमुख समक्ष प्रतिवेदन पेश गरिसकेको छ।

प्रतिवेदनको सिफारिस र प्रचलित व्यवस्थाबमोजिम शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण तालिकालाई स्वीकृतिका लागि नगर कार्यपालिकाको वैठकमा प्रस्ताव पेश गर्ने समितिले निर्णय गरेको छ। शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को अनुसूची १२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भदौ ४ गतेको निर्णय, नेपाल सरकारको शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ दरवन्दी मिलानसँग सम्बन्धी व्यवस्था हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *