धरौटीमा रिहा भए ‘नो केबलकार’ पक्षधर ३ जना
सुनसरीको इटहरीमा प्रदर्शन गर्दै आन्दोलनकारी। फाइल तस्बिर
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण रोक्न माग गर्दै आन्दोलन गर्दा पक्राउ परेका ‘नो केबलकार’ पक्षधर ३ जना रिहा भएका छन्। ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका उनीहरु धरौटीमा रिहा भएका हुन्।
१० हजार रुपैयाँ धरौटी बुझाएर प्रदीप मादेन तथा ५–५ हजार रुपैयाँ बुझाएर लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू रिहा भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।
माघ १२ गते केबलकारको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। झडपमा तीन जना गम्भीर घाइते भएका थिए।
प्रहरीले दमन गरेको भन्दै विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेका थिए।
गृह मन्त्रालयको टोलीसँग माघ २२ गते भएको वार्तामा केबुलकार निर्माण र आन्दोलन स्थगित गर्ने तथा पक्राउ परेकाहरूलाई रिहा गर्ने लगायत ६ बुँदे सहमति भएको थियो। सोही सहमति अनुसार पक्राउ परेकाहरूलाई छोडिएको प्रहरीले जनाएको छ।
माघ २१ गते सरकारले आन्दोलनरत समूहसँग वार्ता गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा टोली गठन गरेको थियो। सोही दिन ‘नो केबुलकार’ समूहले पनि प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति बनाएको थियो।
