भद्रपुर झापा गोल्डकप फागुन ७ देखि

झापा। ‘भद्रपुर झापा गोल्डकप’ फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ७ गते सुरु हुने भएको छ। प्रतियोगिता भद्रपुर–८ स्थित मेची रंगशालामा फागुन १६ गतेसम्म सञ्चालन हुनेछ।

रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको छ। बाँसको अस्थायी प्यारापिट निर्माण पनि सकिन लागेको छ।

यो प्रतियोगिताको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ द टुर्नामेन्ट’ ले एक लाख पाँच हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ। प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, नेपालका विभागीयसहित ५ वटा ए डिभिजन क्लब तथा भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने गोल्डकपका अध्यक्ष ढकालले बताए।

यसैबीच, भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथीभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ।

हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ।

यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुनेछ।

प्रतियोगिताको दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ। प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सले एक थान टिभिएस मोटरसाइकल उपहार प्रदान गर्नेछ।

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *