रवि लामिछाने फेरि हिरासतमा

काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको छ। उनलाई न्यायिक हिरासतमा राखिएको छ।

उनीविरुद्ध दर्ता भएको मुद्दाको थुनछेक बहस आज बुधबार नसकिएपछि पुनः बहसका लागि उपस्थित गराउने गरी अदालतले हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा आजै उनको बयान लिइएको थियो। बयान सकिएपछि पहिलो दिन जाहेरवाला सहकारी पीडित र सरकारी वकिलसहित ४ जनाले बहस गरे।

सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए। जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरे।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दाको बहस बिहीबार पुनः हुने छ। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब ३ जना सरकारी वकिल र रविको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्ने छन्।

लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार चितवन अदालतमा मुद्दा दायर भएको थियो। त्यसअघि १७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *