मञ्जुश्री र रोमाका कृति एकसाथ पाठकमाझ
विराटनगर। दुई जना पूर्वेली स्रष्टाका फरक फरक कृति एकसाथ सार्वजनिक गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा प्रतिष्ठानद्वारा प्रकाशित कवि मञ्जुश्री गिरीको कवितासङ्ग्रह ‘ओझेलमा जूनतारा’ र रोमा निरौलाको कवितासङ्ग्रह ‘अँध्यारोमै झर्छन् पारिजातहरू’ सार्वजनिक गरिएको हो।
साहित्यकार प्राज्ञ खेम नेपाली, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, समालोचक कविराज न्यौपाने लगायतका स्रष्टाहरूले उक्त कृति विमोचन गरेका थिए।
‘अँध्यारोमै झर्छन् पारिजातहरू’ को समीक्षा समालोचक प्राध्यापक भूषण ढुङ्गेलले गरेका थिए। यस्तै, ‘ओझेलमा जूनतारा’ को समालोचक निर्मला कोइरालाले समीक्षा गरेकी थिइन्।
सङ्ग्रहभित्रका कविताहरूले समय र जीवनको प्रतिनिधित्व गरेको धारणा स्रष्टाहरूको थियो।
कार्यक्रममा समालोचक प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ खेम नेपाली, प्राज्ञ गङ्गा सुवेदी, साहित्यकारहरू बलराम पोखरेल, सरला चापागाईं, दिनेशराज सुवेदी, गोकुल अधिकारी लगायतका स्रष्टाहरूले कविद्वयलाई शुभकामना दिएका थिए।
कृति विमोचनपछि कविद्वयले आ-आफ्ना दुई दुईवटा कविता वाचन गरेका थिए। कार्यक्रमको सभापतित्व गरेका प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विगत चालीस वर्षदेखि भाषा साहित्यको सेवामा समर्पित प्रतिष्ठानले हालसम्म १०९ कृति प्रकाशन गरेको जानकारी दिए ।
प्रतिष्ठानले विभिन्न समयमा कार्यक्रम आयोजना गरी स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गर्दै आएको छ।



