एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सुनसरी। साबिक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो।

एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काँकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काए।

एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्ने छ। खेलमा एक गोल र एक गोलका लागि सघाएका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच हुँदै १० हजार प्राप्त गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको केएफटिसीले दोस्रोे हाफको सुरुमा नै गोल खान पुग्यो। खेलको ४८ औं मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गरे। सुजन लिम्बूले मिलाइदिएको क्रस पासलाई उत्कृष्ट ढंगबाट लेखीले बललाई जाली चुमाएका थिए।

६० औं मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए। शिशिर लेखीले प्रहार गरेको बल केएफटिसीका गोलकिपर अभिषेक बरालले रोकेका थिए।

रिबाउण्ड भएको बललाई सुमित श्रेष्ठले मिलाइदिएको पासमा घिसिङले गोल गरे। लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो। ६२ औं मिनेटमा खामिर लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए।

अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए। ७९ औं मिनेटमा सुमित श्रेष्ठले मिलाइ दिएको ब्याकक्रसलाई सुन्दर ढंगले खड्गीले गोल गरे।

पहिलो हाफमा अग्रता बनाउन केएफटिसी चुकेको थियो। १६ औं मिनेटमा रोबर्ट खोन्जाउले वान भर्सेज वानको स्थितिमा गोल गर्न चुके। ४९ औं मिनेटमा केएफटिसीका मौसम लिम्बूले डिबक्सभित्रबाट गोल गर्न सकेनन्।

उनले प्रहार गरेको सशक्त बल एनआरटीका गोलकिपरले मुस्किलले रोकेका थिए। पेनाल्टी पोइन्ट नजिकै अनमार्क रहेका केएफटिसीका आशिष चापागाईंले गोल गर्न सकेनन्। उनले प्रहार गरेको बल आकासिएको थियो।

एनआरटीले पहिलो हाफको तुलनामा दोस्रो हाफ राम्रो खेलेको थियो। खेलको अन्तिममा एनआरटीका शिशिर लेखी वान भर्सेज वानमा गोल गर्न चुकेका थिए।

बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *