चितवनमा पनि रवि लामिछानेविरुद्ध मुद्दा दर्ता

काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका उनीसहित १५ जनालाई मुद्दामा प्रतिवादी बनाइएको छ। सरकारीको रकम हिनामिनामा ६ वटा संस्थाविरुद्ध पनि अभियोग पत्र दायर भएको छ।

लामिछानेसहित रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलगायत प्रतिवादी छन्।

लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दायर भएको भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ। साहारा चितवन सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ।

सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीले दिएको थियो। यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।

सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईसहित कुमार रम्तेल, सागर केसी, वीबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भनिने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।

यसअघि सहकारीकै रकम अपचलनसँग सम्बन्धित मुद्दामा लामिछानेलाई विभिन्न अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा १ करोड धरौटी बुझाएर उनी छुटिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *