पाथीभरामा केबलकार निर्माणको विवाद सुल्झाउन वार्ता हुँदै
फाइल तस्बिर
काठमाडौं। पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार बनाउने विषयमा भएको विवाद समाधान गर्न गठित सरकारी टोली र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ। हिजोको वार्ता सकारात्मक भएपछि आज पनि ललितपुरको हिमालय होटलमा दुई पक्षबीच वार्तालाई निरन्तरता दिइएको हो।
आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले केबलकार निर्माण कार्य अहिलेका लागि स्थगित गर्ने कुरालाई आफूहरुले पहिलो प्राथमिकता दिएको बताए।
आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ अनि घाइतेहरूको उपचार सरकारले गर्नुपर्ने माग पनि आन्दोलनकारीको छ।
सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।
भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि छन्।
आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ। प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा रहेको समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक सदस्य छन्।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्नुपर्ने माग गर्दै आन्दोलन भइरहेको छ। आन्दोलनकारीले अरुणपूर्व ९ जिल्लामा अनिश्चितकालीन यातायात बन्द जारी राखेका छन्।
