‘नो केबलकार’ पक्षधर १० जना पक्राउ

विराटनगर। ताप्लेजुङस्थित पाथीभरामा केबुलकार निर्माणको विरोधमा यातायात बन्द आह्वान गरेको अन्तर दलीय संघर्ष समितिका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी दीपक पोखरेलका अनुसार सुनसरीको धरानबाट ६ र झापाको दमकबाट ४ जनालाई पक्राउ गरिएको हो। बन्द गराउँदै हिँड्ने, सवारीसाधनलाई अवरोध गर्ने तथा अराजक गतिविधि गर्नेहरुलाई पक्राउ गरिएको उनले बताए।

संघर्ष समितिले केबलकार निर्माणको विरोधमा आज आइतबार र भोलि सोमबार २ दिन अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको छ। बन्दका कारण जनजीवन प्रभावित भएको छ।

बन्दको प्रभाव ताप्लेजुङमा धेरै परेको छ। अन्य जिल्लामा सामान्य प्रभाव छ। बन्दलाई मध्यनजर गरेर ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। समितिले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्ला बन्दको आह्वान गरेको हो।

पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएको मुक्कुम्लुङ संरक्षण संघर्ष समिति र प्रहरीबीच अघिल्लो शनिबार झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। घटनामा २१ सुरक्षाकर्मी र ५ जना आन्दोलनकारीसहित २६ जना घाइते भएका हुन्।

प्रहरीले दमन गरेको भन्दै संघर्ष समितिले बन्द र हड्ताल गरिरहेको छ। केबलरकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने, ताप्लेजुङको काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्नेलगायत माग राख्दै संघर्ष समिति आन्दोलित बनेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *