बुढासुब्बा गोल्डकप शुक्रबारदेखि, १० टिम सहभागी हुने
सुनसरी। धरानमा सञ्चालन हुने २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। धरान फुटबल क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रताप तामाङले प्रतियोगितालाई विशेष बनाउन सबै तयारी पूरा भएको जानकारी दिए।
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघ १९ गते देखि २६ गतेसमम्म धरान–१६ रङ्गशालामा हुने तय भएको छ।
प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, भुटान फुटबल क्लब एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृतित क्लब, युके एफसी (भारत), मछिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाउँदै छन्।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
