बल्खुमा राखिएका तरकारीमा २० प्रतिशसम्म विषादी
फाइल तस्बिरः सरल पत्रिका
काठमाडौं। बल्खु तरकारी बजारमा राखिएका तरकारीमा २० प्रतिशतसम्म विषादी पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले गरेको परीक्षणमा विषादी पाइएको हो।
विभागको टोलीले ९ प्रकारका तरकारीको नमुना लिएर परीक्षण गरेको थियो। त्यस क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ। विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताए।
परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको उनको भनाइ छ। परीक्षण गरिएका तरकारीमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम २७ प्रतिशतसम्म ‘इन्जाइम इन्हिभिसन’ पाइएको थियो।
इन्जाइम इन्हिभिसन ३५ प्रतिशत भन्दा कम भए खान योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिभिसन भएकोलाई ‘क्वारेन्टाइन होल्ड’ गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान छ।
बल्खु तरकारी बजारमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायत २० जिल्लाबाट आएका तरकारीहरुको नमुना परीक्षण गरिएको थियो।
