हल्का वर्षा र हिमपातको सम्भावना
इलामको सन्दकपुर क्षेत्रमा भएको हिमपात । फाइल तस्बिर
विराटनगर। मौसम फेरिने क्रममा कोशीसहित केही प्रदेशमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना औंल्याइएको छ। देशको पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहँदा मौसम प्रभािवत बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसको प्रभावले प्रभावका कारण कोशीसहित ४ प्रदेशका उच्च पहाडी एवं हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
तराईका अधिकांश भूभागहरूमा आज बिहीबार बिहानैदेखि बाक्लो हुस्सु लागिरहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी एवं हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
