ताप्लेजुङदेखि जुम्लासम्मको अर्ग्यानिक उत्पादन एकै ठाउँ

झापा। जुम्लाकी गंगादेवी राउत यतिबेला आफूले उत्पादन गरेको अर्ग्यानिक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छन्। आफ्नै र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर, मकै, जौ, गहुँको पीठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छन्। जडिबुटीको चिया, जिम्मु र दाँते ओखर पनि उनको स्टलमा छन्।

पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सीमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छन्। उनको स्टलमा औषधीय गुण भएको मह र लेकाली भेडाको भिउ उपलब्ध छ।

ताप्लेजुङ, फुङ्लिङकी माया गुरुङले अलैँचीको रेसाबाट निर्मित हस्तकलाका आकर्षक सामग्रीले स्टल सजाएकी छन्। उनले यो सीप विकासका लागि परामर्श समेत प्रदान गर्ने बताइन्। आफू र आफू जस्तै महिलाहरुको आर्थिक क्षमता अभिवृद्धिका लागि लामो समययता गुरुङले यो व्यवसाय सञ्चालन गर्दै आएकी छन्।

अर्ग्यानिक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो बस्तु र परामर्शसहित महोत्सवको स्टलमा पुगेकी छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पाइने बस्तु र सेवाहरु एकै थलोबाट अवलोकन र बिक्रीका लागि सञ्चालन गरिएको यो महोत्सवमा पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, मसला र जडिवुटीहरु राखिएको छ।

मेचीनगरमा रहेको एडभान्स मल्टी प्रोडक्सन कम्पनी प्रालिले अर्ग्यानिक सामग्रीको प्रयोगमा जोड दिँदै सुपारीका पातबाट बनाइएका घरायसी सामान बिक्रीका लागि राखेको छ।

यो महोत्सवले नेपालसहित भारत, वंगलादेश, पाकिस्तानका व्यवसायीलाई एकै थलोमा जोडेको छ। अघिल्ला महोत्सवमा जस्तै यस पटक पनि उपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीले अपेक्षा गरेका छन्।

झापाकै जिना बस्नेत १२ वटा फरक–फरक अचारका प्याकेजिङ लिएर स्टल आइपुगेकी छन्। उनको स्टलमा हस्तकलाका माला, कुसन र गुडिया भेटिन्छन्। च्याउको सुकुटी पनि उनले राखेकी छन।

सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ। स्वरोजगार मुलक उद्योगका सञ्चालकलाई बिशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।

उनका अनुसार पाकिस्तानी लेदर, भारतमा बनेका भान्सा सामग्री, वंगलादेशी गामेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन्।

वाणिज्य संघ अन्तरगतकै महिला उद्यमी समूहले अर्ग्यानिक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले बनाइन्। महोत्सव स्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *