‘म पनि दुई-चार मुक्का लगाइदिन्थें, साथीहरूले रोके’

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सुरक्षा हिसाबले प्रदेशमा ‘थ्रेट’ को अवस्था रहेको बताएका छन् । आफूमाथि हातपात भएको विषय उल्लेख गर्दै उनले सुरक्षाको विषयमा प्रदेश संवेदनशील बन्नुपर्ने बताए। आफूमाथि भएको आक्रमण नियोजित नभएको उनले बताए।

सोमबार प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘यो कुनै नियोजित घटना होइन, कुनैले उद्देश्य बोकेर घटना भएको होइन, ‘यसलाई मुद्दा नबनाऔं’ उनले भने, ‘घर जान हतार थियो, अलिकति अगाडि जाऔं, चाँडै जाऔं भनेर अगाडि बढ्न खोज्दै गर्दा मेरो चालकले हर्न बजाए, साइड मागे, मभन्दा अगाडि हिंड्ने गाडीले साइड दिन चाहेन।’ उनले आफूमाथि योजनाबद्ध घटना नभएका कारण उजुरी नदिएको बताए।

डाइभर्सनमा पुगेपछि गाडी रोकेको बताउँदै उनले सेक्युरेटीले साइड किन नदिएको भन्दा आक्रमण भएको बताए। साइड किन नदिएको भनेर राम्ररी नै सोध्दा पनि भीआईपीलाई किन साइड चाहिने भन्दै जवाफ आएको थापाले बताए।

‘भीआईपीलाई साइड दिनुभएन ठिकै छ तर सडकमा त भीआईपी मात्रै होइन, अरु पनि हिंड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्युरिटीलाई पन्छाएर मलाई हानेको हो’ उनले भने, ‘सदनलाई नढाँटी भन्नुपर्छ, म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिएँ, तर मलाई साथीहरूले रोक्नुभयो।’

शनिबार थापामाथि झापाको सुरुङ्गामा आक्रमण भएको थियो। नेपाल विद्युत प्राधिकरणका कर्मचारीले उनलाई आक्रमण गरेका थिए। आक्रमणबाट उनको निधारमा चोट लागेको छ। घटनामा संलग्न दुई जनालाई पक्राउ गरी प्रहरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

आक्रमणमा कोशीका पूर्वमुख्यमन्त्री थापा घाइते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *